लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगन्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।
क्लबले केडिया आँखा अस्पताल नजिकै रहेको सुखचैना गाउँ र वीरगञ्ज महानगरपालिका–११, श्रीपुरस्थित श्रीपुर माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी राहत सामग्री वितरण गरेको हो।
सुखचैना गाउँमा ३५ र वीरगञ्ज – ११, श्रीपुरमा ५५ परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजाका सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममार्फत छठ पर्व मनाउन आर्थिक कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी साडी, गहुँ, तेल, नरिवल, सूपली लगायतका सामग्री वितरण गरिएको थियो।
पर्वको समयमा विपन्न परिवारलाई राहत पुगोस् र उनीहरूले पनि श्रद्धा तथा उल्लासका साथ छठ पर्व मनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले सबैलाई मिलेर श्रद्धा र भक्तिपूर्वक छठी माताको पूजा गर्न आग्रह गर्दै यस्ता सामाजिक तथा धार्मिक सेवामूलक गतिविधिले आगामी दिनमा अझ ठूलो स्तरमा सहयोग गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।
त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन डी.एन. अग्रवालले लायन्स क्लब जात, धर्म, वर्ग तथा राजनीतिक भेदभावभन्दा माथि रहेर मानवताको सेवामा समर्पित संस्था भएको बताएका थिए। उनका अनुसार लायन्स क्लबको मूल उद्देश्य नै मानव सेवा भएकाले सबै मानिसलाई समान दृष्टिले हेर्नु र आवश्यकतामा परेकालाई सहयोग गर्नु संस्थाको प्रमुख दायित्व हो।
उनले क्लबका अध्यक्ष लायन बिरेन्द्र साह तथा अन्य पदाधिकारी सदस्यहरूले गाउँमै पुगेर करिब १५ – २० दिनदेखि लाभग्राहीहरूको पहिचान र सूची तयार गर्न मेहनत गरेको जानकारी दिँदै प्रशंसा गरेका थिए।अग्रवालले छठ पर्व अत्यन्तै पवित्र, आस्था र शुद्धतासँग जोडिएको महान् पर्व भएको उल्लेख गर्दै सहयोगस्वरूप प्रदान गरिएका सामग्रीले व्रतालु तथा विपन्न परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका थिए।
साथै, छठी माताले सम्पूर्ण परिवार तथा सहयोगीहरूलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद प्रदान गरून् भन्ने कामना समेत गरेका थिए।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) का अध्यक्ष लायन बिरेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन विजय कुशवाहा, एरिया चिफ लायन सुनील गुप्ता, जोन चेयरपर्सन लायन विनोद खण्डेलवाल, लायन्स सुशील चौरसिया, लायन रोशन गुप्ता, लायन ब्रह्म नारायण चौधरी, लायन श्यामसुन्दर साह, वडा सदस्य जगन महतो, वडा सचिव किसान महतो, पवन ठाकुर लगायत क्लबका पदाधिकारी, सदस्य, स्थानीय सहयोगी तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।



