दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको तेस्रो दिन : पर्सा डोमिनेटरलाई १६ रनले हराउँदै चैनपुर सुपर किङ्ग विजय

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नं. ६, तित्रौनास्थित झुलङ्गे पुल नजिकको खेल मैदानमा जारी ‘दोस्रो पर्सागढी मेयर प्रिमियर लिग’ को तेस्रो दिन चैनपुर सुपर किङ्गले विजयी यात्रा तय गरेको छ। प्रतियोगिता अन्तर्गत भएको चौथो खेलमा चैनपुर सुपर किङ्गले पर्सा डोमिनेटरलाई १६ रनले पराजित गर्दै शानदार जित निकालेको हो। पर्सागढी ल्यान्स क्लबको आयोजनामा यो प्रतियोगिता भइरहेको छ।
चैनपुरको निर्धारित ओभरमा १५६ रनको योगफल
टस जिтяर ब्याटिङ गरेको चैनपुर सुपर किङ्गले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै १५६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। चैनपुरका लागि रोहन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३४ बलमा ७२ रनको विस्फोटक इनिङ खेले। त्यस्तै, असरफले २९ बलमा ३६ रन र उपेन्द्र महराले १४ बलमा २२ रनको योगदान दिए।
पर्सा डोमिनेटर १४० रनमा सीमित
१५७ रनको विजयलक्ष्य पछ्याउने क्रममा मैदान उत्रिएको पर्सा डोमिनेटरले १६ ओभरमा ९ विकेट गुमाउँदै १४० रन मात्र बनाउन सक्यो। पर्सा डोमिनेटरका लागि असलमले २७ बलमा सर्वाधिक ४३ रन र राजन पटेलले १६ बलमा १७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
अलराउन्डर प्रदर्शन गर्दै रोहन यादव ‘म्यान अफ द म्याच’
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका चैनपुर सुपर किङ्गका रोहन यादव खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ब्याटिङतर्फ ३४ बलमा ७२ रन बनाउनुका साथै बलिङतर्फ ४ ओभरमा २६ रन खर्चेर महत्वपूर्ण ४ विकेट हात पारेका थिए। खेलमा आरजे समीर आजादले आकर्षक कमेन्ट्री गरेका थिए भने सलामले अम्पायरिङको भूमिका निर्वाह गरेका थिए।



