पर्सागढी मेयर प्रिमियर लिग:नाशा इलेभेनलाई पराजित गर्दै अपन तित्रौना बोल्टस विजयी

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका-६ तित्रौनास्थित झुलङ्गे पुल नजिकको खेल मैदानमा जारी दोस्रो पर्सागढी मेयर प्रिमियर लिगको चौथो दिनको छैटौँ खेलमा अपन तित्रौना बोल्टसले नाशा इलेभेनलाई ४ विकेटले हराएको छ। पर्सागढी लायन्स क्लबको आयोजनामा प्रतियोगिता भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नाशा इलेभेन १५.२ ओभरमा ९६ रनमा अलआउट भयो। उसका लागि कुन्दन यादवले १९ बलमा २५ रन, रबि रामले १७ बलमा २३ रन र नितेश पाण्डेले २७ बलमा १२ रन बनाए।
९७ रनको विजयी लक्ष्य पछ्याएको अपन तित्रौना बोल्टसले १३.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो। जितका लागि पपु यादवले १३ बलमा २३ रन र दिपेश साहले १२ बलमा १७ रनको योगदान दिए।
उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका (४ ओभरमा १६ रन खर्चेर २ विकेट र ७ बलमा ८ रन) अपन तित्रौना बोल्टसका सोएब अन्सारी ‘म्यान अफ द म्याच’ घोषित भए। खेलमा आरजे समीर अजादले कमेन्टरी र सलामले अम्पायरिङ गरेका थिए।



