बीरगञ्ज।
जिल्ला प्रशासन कार्यालय पर्साले रासायनिक मल वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी गराउनका लागि कृषि सहकारी संस्था र थोक विक्रेता (डिलर)लाई निर्देशन गरेको छ ।
रासायनिक मल वितरण वास्तविक किसान समक्ष नपुगेको गुनासो बढेसँगै प्रशासनले आज यहाँ सरोकारवाला निकायसँग छलफल गरेर मल वितरण प्रणालीलाई वस्तुगत र पारदर्शी बनाउनको लागि निर्र्देश गरेको हो । कार्यालयले कृषि उपभोक्ता सहकारी संस्थाद्वारा सस्तो मूल्यमा वितरण गर्ने रासायनिक मल वितरण प्रणालीमा गुनासा भएकाले पनि व्यवस्थित वितरण प्रणाली विकास गर्न अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृषि उपभोक्ता समितिले सस्तो र सुलभ मूल्यमा वितरण गर्नुपर्ने रासायनिक मल एग्रोभेट कम्पनीलाई वितरण गर्ने गरेकाले पनि सो नगर्न निर्देशन दिए। ‘‘कतिपय कृषि उपभोक्ता समितिले अनुदानबापत सस्तो मूल्यमा पाएको मल वास्ताविक किसानलाई उपलब्ध नगराएर बिक्री वितरण गर्ने गुनासा आइरहेका छन्,’’ उनले भने,‘‘प्रशासनले मल वितरण प्रणालीमा नियमित अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने छौँं ।’’ प्रजिज अर्यालले रासायनिक मल वितरणमा पारदर्शता अपनाउँदै व्यवस्थित खालको वितरण संरचना बनाउन आग्रह गरे।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मल स्थानीय पालिकाको सिफारिसमा सम्बन्धित पालिकाका सहकारी संस्था तथा डिलरलाई उपलब्ध गराउने गर्छन् । रासायनिक मल खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्ने गरिन्छ ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले कृषि सहकारी संस्थाले किसानबाहेक अन्यलाई रासायनिक मल बिक्री वितरण गरेको खण्डमा कारबाहीको दायरामा ल्याउने बताए। सरकारलेप्रति ५० किलोग्राम युरिया मल रु सात सय ५०, डिएपी मल दुई हजार दुई सय र पोटास मल रु एक हजार पाँच सयमा उपलब्ध गराउँदै आइरहेको छ । कृषि सहकारी उपभोक्ता समितिले सो मूल्यमा यातायात खर्चभने जोडेर लिन पाउनेछन् ।
साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख आमोज लामिछानेले पर्सामा कूल रासायनिक मलको ६० प्रतिशत मात्रै उपलब्धता हुँदै आइरहेको बताए। ‘‘सरकारी अनुदानको मलले बजारको माग थेग्नै मुस्किल छ,’’ उनले भने,‘‘विगतमा प्रति चार किलोग्राम मल छर्ने गरेकोमा अहिले प्रतिकठ्ठा आठ देखि १० किलो छर्ने भएकाले पनि समस्या भएको छ ।’’
