राजनीतिसमाचार

प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न, चारै क्षेत्रमा एमाले जिताउने प्रतिबद्धता

बीरगंज ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार वीरगञ्जमा प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न भएको छ। भेलामा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलामा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नं. २ की उम्मेदवार रिमा यादव, क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे तथा क्षेत्र नं. ४ का उम्मेदवार जालिम मियाँ मन्सुरी सहभागी थिए। उम्मेदवारहरूले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै सुशासन, विकास, रोजगारी र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

फागुन २१ को निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित सुनिश्चित गर्न पार्टीको शुभेच्छुक संस्था प्रेस चौतारीमा आबद्ध पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उम्मेदवारहरूले जनतामाझ एमालेका नीति, कार्यक्रम र एजेन्डा पुर्‍याउन सहयोग गरिदिन आग्रह गरेका थिए।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका केन्द्रीय सदस्यहरू प्रभु हजरा, विजय सरावगी, नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा तथा मधेस प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाललगायत नेता तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी र शुभेच्छुक संस्थाबीच समन्वय सुदृढ गर्दै संगठनात्मक रूपमा अझ सक्रिय बन्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button