राजनीति

पर्सामा एमालेको ७७ औं स्थापना दिवस , एकता र सुधारको सन्देश

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ वार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय मनमोहननगर, रामगढवामा विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभू हजरा ले पछिल्लो समय पार्टीलाई विभिन्न चुनौती र अन्तरविरोधले असर पारेको स्वीकार गर्दै समीक्षा गरेर सम्हालिएर अघि बढ्नुपर्ने बताए। उनले संगठनात्मक कमजोरी सुधार गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

अर्का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजय कुमार सरावगी ले पार्टीलाई जनताको समस्यासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे। उनले जनताबाट टाढा रहेर कुनै पनि कम्युनिष्ट आन्दोलन सफल हुन नसक्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने ले कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान राजनीतिक अवस्था र संगठन सुदृढीकरणका विषयमा धारणा व्यक्त गरे।

त्यस्तै, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा ले एउटा चुनावी हारले एमालेजस्तो ऐतिहासिक पार्टी समाप्त नहुने उल्लेख गर्दै समयअनुसार नेतृत्व हस्तान्तरण र संगठनात्मक रुपान्तरण आवश्यक रहेको बताए। उनले केही सीमित नेताहरूले पार्टीलाई निजी कम्पनीजस्तो चलाउने प्रवृत्तिले संगठन कमजोर बन्दै गएको आरोपसमेत लगाए।

“पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन, यो लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको संस्था हो,” उनले भने।

जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन मनोज कुशवाहाले गरेका थिए। कार्यक्रममा मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव, नेता जालिम मियाँ, नगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानलगायत नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियोे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button