
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ‘समृद्धिका २५ स्तम्भ’लाई मुख्य आधार बनाउँदै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
राजधानीमा आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दै एमाले सरकारका पालामा लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका उपलब्धिहरूलाई स्मरण गरे। उनले आगामी कार्यकालका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै देशलाई तीव्र आर्थिक वृद्धि र दिगो विकासतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे।
घोषणापत्रमा तत्काल सम्पन्न गर्नुपर्ने ११ काम र ५ आधारभूत घोषणालाई प्राथमिकतामा राखिएको छ। साथै, मुलुकको समग्र विकासका लागि २५ वटा ‘समृद्धिका स्तम्भ’ प्रस्ताव गरिएको छ, जसमा कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार र प्रविधि क्षेत्रलाई विशेष जोड दिइएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै एमालेले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार र सर्वोच्च अदालत जस्ता महत्वपूर्ण संरचनाहरूको समयसीमाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
एमालेले यस निर्वाचनलाई केवल नेतृत्व पुस्तान्तरणको विषय नभई देश बनाउने र भत्काउने शक्तिबीचको जनमत संग्रहका रूपमा व्याख्या गरेको छ। राष्ट्रिय स्वाभिमान र राजनीतिक स्थिरतालाई केन्द्रमा राख्दै पार्टीले समृद्धिका २५ स्तम्भमार्फत आर्थिक सशक्तीकरण र पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना अघि सारेको जनाएको छ।
उक्त कार्यक्रममा पर्सा क्षेत्र नं २ की एमाले उम्मेद्वार रिमा यादवको सहभागीता रहेको थियो।



