समाचार

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

Ad 1
Ad 2
Ad 3
Ad 4

चितवन । भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो ।

निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ । डिपो स्टेसन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ,“ उनले भने, “दिगो रूपमा काम गर्न भने ६ महिनादेखि एक वर्ष लाग्नेछ ।”

जमिनमुनि वा माथि ट्यांकी राखेर काम गर्न समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उनले बताए । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि चारदेखि पाँच करोड खर्च हुने जनाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताए । यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने उनको भनाइ छ ।

बुद्ध एयरले भरतपुरबाट काठमाडौं र पोखरा गरी दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । दुईवटा ४७ सिटका र पाँचवटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए । यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौंबाट यहाँ आउने जहाजमा थप दुई जना यात्रु ल्याउन सकिने उनको भनाइ छ ।

बुद्ध एयरको ७२ सिटको जहाजले काठमाडौंबाट आउँदा हाल ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ । बस्नेतका अनुसार यहाँबाट उड्दा भने हाल ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ ।

यस्तै, ४७ सिटको जहाजले हाल काठमाडौंबाट आउँदा ४५ जना र फर्कदाँ ४३ जना लिएर जाने गरेको छ । गर्मीयाममा काठमाडौंबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी यात्रु बोकेर जाने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button