
पोखरा । आगामी फागुन २१ गते हुने निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार रश्मि आचार्यलाई उनको जन्मथलो पोखरा–३३ भरतपोखरीका स्थानीय बासिन्दाले आफ्नै टोलमा देखिने र संसदमा जनताका कुरा राखेर परिणाम निकाल्न सक्षम उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिबद्धता पत्रका लागि सुझाव संकलन गर्न आफ्नो जन्मथलो भरतपोखरीका टोल र बस्तीबस्ती पुगेका उम्मेदवार आचार्यलाई ठाउँ बुझेको, जनताको सारथी भएको र समस्यालाई समाधानसहित उजागर गर्न सक्षम आफ्नो रोजाइको उम्मेदवार आचार्य भएको भन्दै निर्धक्क हुन आश्वस्त पारेका छ्न् ।
‘न हिजोका हाम्रा प्रतिनिधिले कसैलाई अन्याय गरे न फेरि आउने कुनै प्रतिनिधिले कुनै घात गर्नेछन् ।’ हिजोका प्रतिनिधिले सधैं विकास र नीति बहसमा अब्बल उदाहरण प्रस्तुत गरेको भन्दै रश्मि झन उत्कृष्टताको सम्भावना भएको स्थानीय ७५ वर्षीय लालबहादुर नेपालीले उल्लेख गरे ।
‘हामीलाई काम चलाउ हैन राष्ट्रिय राजनीति र देश विकाससँगै नीति निर्माणमा प्रभावशाली भूमिका खेल्ने प्रतिनिधि चाहिएको त्यो उहाँबाट सम्भव छ ।’ अर्का स्थानीय श्रीमाया नेपालीले भनिन् ।
‘हामी कहिल्यै लहडमा हिँडेनौँ, दक्षिण पोखराको भरतपोखरीको सुन्दर पर्यटकीय परिकल्पना भौतिक विकाससँगै पूर्णतातर्फ लम्केको छ, अब यो पूरा गर्ने दायित्व रश्मिलाई सुम्पनु छ’ तिक्लाङ निवासी स्थानीय मेघनाथ ढकालले थपे ।
‘जसले गर्छ जनहित उसको हुन्छ जित त्यो क्षमता आचार्यसँग छ’ ढकालले उल्लेख गरे ।
‘सुन्दर पर्यटकीय केही आकर्षक गन्तव्य निर्माणका लागि रश्मिको विजयको लागि आतुर छौँ । भरतपोखरीलाई अब डेस्टिनेसन प्याराडाइज बनाउनेतर्फ हामी दृढ संकल्पित छौँ त्यो काम आचार्यबाट सम्भव छ’ अर्का स्थानीय शान्ति आचार्यले जिकिर गरिन् ।
सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले जन्म ठाउँको अपार साथले आफ्नो विजय सुनिश्चित भइसकेको भन्दै सबैका साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयहरूको उत्साहपूर्ण सहभागीतामा सुझाव लिन सक्रिय उम्मेदवार आचार्य विद्यार्थी राजनीतिबाट उदाएका कुशल, इमान्दार र बौद्धिक छवि भएका उम्मेदवारको परिचय बनाएका व्यक्ति हुन् ।



