राजनीति

निर्वाचन अगावै संविधान संशोधन वा पुनर्लेखन हुनुपर्ने– अध्यक्ष यादव

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज १५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन अगावै संविधान संशोधन वा पुनर्लेखन गरिनुपर्ने शर्त अघि सारेको बताएका छन् ।

मङ्गलवार वीरगंजमा आयोजित विशाल प्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन वा पुनर्लेखन नगरिए त्यसलाई च्यातेर नयाँ संविधान जारी गर्ने बताए ।
मधेसी, जनजाति र अल्पसंख्यक विरोधी भनिएको वर्तमान संविधानमा आमूल परिवर्तनको माग गर्दै यादवले आफ्नो पार्टीले फेरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने घोषणा गरे । “संविधान पुनर्लेखनका लागि जसपा नेपालले फेरि आन्दोलन गर्छ,” यादवले भने, “यदि आन्दोलन गर्दा पनि राज्यले सुन्दैन भने यो संविधान च्यातेर अर्काे नयाँ संविधान जारी गर्न हामी बाध्य हुनेछौँ ।”

उनले आगामी फागुन २१ गते हुने निर्वाचन अगावै संविधान संशोधन वा पुनर्लेखन गरिनुपर्ने शर्त अघि सारेका छन् । साथै, सरकार र ‘जेनजी’ (युवा पुस्ता) का प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता निर्वाचन अगावै लागू हुनुपर्ने उनको माग छ ।

अध्यक्ष यादवले विगत साढे तीन दशकदेखि सत्तामा हालिमुहाली गर्दै आएका नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूका कारण देश बर्बाद भएको गम्भीर आरोप लगाए । “३५ वर्षदेखि कांग्रेस र कम्युनिष्टले केवल लुटतन्त्र मच्चाएका छन्,” उनले टिप्पणी गरे, “यिनैका कारण देशको अर्थतन्त्र, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्र आज धराशायी भएको हो ।”
यादवले वर्तमान सरकारले मधेसी जनतालाई जस्तै अहिलेको युवा पुस्ता (जेनजी) लाई पनि धोका दिइरहेको बताए । युवाहरूको रगत र बलिदानमाथि सरकारले मजाक गरिरहेको भन्दै उनले अबको लडाइँ सुशासन र अधिकारका लागि हुने प्रस्ट पारे ।

मधेस आन्दोलनबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता ऐतिहासिक उपलब्धिहरू मास्न ठूला दलहरू योजनाबद्ध रूपमा लागेको यादवको दाबी छ । उनले भने, “हामीले रगत बगाएर ल्याएका यी उपलब्धिहरूलाई रक्षा गर्नकै लागि हामी निर्वाचनमा सहभागी हुन लागेका हौँ ।”

विरोध सभामा जसपा नेपालका नेताहरूले संघीयता विरोधी शक्तिहरूलाई परास्त गर्न र मधेसको अधिकार सुनिश्चित गर्न एकजुट हुन आहवान गरेका थिए । वीरगंजको घण्टाघरबाट निस्किएको विरोध र्रुयाली नगरका विभिन्न भाग परिक्रमा गरी सभामा परिणत भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button