माओवादी केन्द्रले दुई सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढायो

वीरगंज । मधेश प्रदेश सभाका दुई सांसदमाथि पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)ले कारबाही प्रक्रिया अघि बढाएको छ।
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने सन्दर्भमा पार्टी ह्विप विपरीत उभिएको भन्दै माओवादी केन्द्र संसदीय दल, मधेश प्रदेशले आफ्ना सांसद रहबर अन्सारी र मालाकुमारी कर्णमाथि कारबाही प्रक्रिया सुरु गरेको हो।
माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्वमन्त्री भरत साहका अनुसार विश्वासको मतको दिन प्रदेश सभा बैठकमा पार्टीको आधिकारिक निर्णयविपरीत यी दुई सांसदले मुख्यमन्त्री सोनललाई समर्थन नगरेको र सदनमा वक्तव्य दिँदै ह्विपको खुल्लमखुल्ला उल्लङ्घन गरेको पाइएपछि संगठनात्मक कारबाही अघि बढाइएको हो।
साहले भने, “पार्टीको निर्णय विपरीत आचरण गरेकाले केन्द्रीय समितिले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरिसकेको छ। केन्द्रबाट आधिकारिक पत्र आएलगत्तै प्रदेशसभामा उनीहरूको पद खारेजका लागि सिफारिस गरिनेछ।”
विश्वासको मतका दिन अन्सारी र कर्णले ह्विप विपरीत उभिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो। त्यसै बैठकमा मुख्यमन्त्री सोनलले सदनमै राजीनामा घोषणा गरेका थिए।
माओवादी केन्द्रले यी दुई सांसदको व्यवहारलाई गैरसंवैधानिक, असंवैधानिक र पार्टी अनुशासन विपरीत भन्दै उदाहरणीय कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।




I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.