मन्त्रीसँग विवाद गरेकी किरण साहको फेरी ३ दिन म्याद थप गरियो

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोन संवादको अडियो भाइरल भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यो सँगै उनको हिरासत अवधि लम्बिएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले मुद्दा अनुसन्धानका लागि म्याद थप गरिएको जानकारी दिए। साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ।
साहलाई मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा शनिबार पक्राउ गरिएको थियो। उनी बाराको कलैया घर भई हाल वीरगन्जको मुर्लीमा बस्दै आएकी छिन्। गत शुक्रबार राति सामाजिक सञ्जालमा मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवादको अडियो सार्वजनिक भएको थियो। अडियोमा किरणले वीरगंजमा फैलिएको हैजा र दूषित पानीको विषयमा मन्त्रीलाई कडा प्रश्न गरेकी थिइन्।
उनले आफ्नो परिवारका सदस्य पनि हैजाका कारण अस्पतालमा भर्ना भएको भन्दै मन्त्रीलाई बारम्बार फोन गर्दा पनि सम्पर्कमा नआएको भन्दै आक्रोश पोखेकी थिइन्। अडियोमा उनले ‘म तपाईंलाई छोड्दिनँ’ भन्दै बोलेको सुनिन्छ। यो घटनाले सार्वजनिक बहस सिर्जना गरेको छ। एकातर्फ नागरिकले जनप्रतिनिधिलाई प्रश्न गर्दा कानूनी झमेलामा पर्ने अवस्था आएको छ भने अर्कोतर्फ मन्त्रीका समर्थकले आज साहलाई कारवाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको गेटमा प्रदर्शन गरेका थिए ।




Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.