बारामा नक्कली फुकुवा पत्र बनाएर रोक्का जग्गा बिक्री गर्ने संजित चौधरी पक्राउ, बुवा फरार

बारा जिल्ला अदालतको नाममा नक्कली कागजात तयार गरी रोक्का गरिएको जग्गा बिक्री गर्ने संजित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको छाप, लेटरप्याड, दस्तखत र चलानी नम्बर जालसाजी गरी अदालतकै फुकुवा आदेशजस्तो देखिने पत्र बनाएर उनले जग्गा बिक्री गरेको खुलासा भएको हो।
जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी मोति धामी थारुका छोरा संजित चौधरीलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको हो। उनीमाथि कीर्ते कागजात बनाइ ठगी गरेको आरोपमा अनुसन्धान सुरु गरिएको छ।
बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार, चौधरीले पुरानो फुकुवा आदेशको प्रतिलिपि प्रयोग गरेर मिल्दोजुल्दो भाषा टाइप गरी अदालतको छाप र दस्तखत स्क्यान गरेर जालसाजी कागजात तयार गरेका थिए। त्यसैको आधारमा सिमरा मालपोत कार्यालयबाट कित्ता नं. ५४३ को ०–७–० क्षेत्रफलको जग्गा फुकुवा गराई दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरिएको थियो।
उक्त जग्गा पवन साहले चन्द्रिका धामीसँगको लेनदेन विवादका कारण अदालतमार्फत रोक्का गराएका थिए। रोक्का आदेश कायमै रहँदा नक्कली फुकुवा पत्र देखाएर चौधरीले अवैध रूपमा बिक्री गरेका हुन्।
संजित चौधरीले प्रारम्भिक बयानमा किर्ते कागजात आफैंले बनाएको स्वीकार गरिसकेका छन्। तर घटनामा संलग्न देखिएका उनका पिता मोति धामी भने फरार रहेको र प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ।
प्रहरीले यस घटनालाई गम्भीर अपराधको रूपमा लिएको छ र अदालतका नाममा हुने यस्ता जालसाजी क्रियाकलापमाथि कडा कारबाही गरिने बताएको छ।




Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=IHJUI7TF