२ क्वीन्टल गाँजा र गाडी सहित मकवानपुरका लामा पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले २०७ किलोग्राम लागुऔषध गाँजासहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा साउन १९ गते साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिराभवानी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडीलाई रोकी जाँच गरेको थियो।
प्रहरीले गाडीभित्र सिमेन्टका बोराभित्र लुकाएर राखिएको अवस्थामा २०७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको जनाएको छ। गाडी चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



