समाज

बिज्ञापनमा सरकारको बिभेदकारी नीतिका बिरुद्ध पर्साका पत्रकार धर्नामा, नीति फिर्ता नलिए कडा आन्दोलनको चेतावनी

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारले लिएको विभेदकारी नीतिका बिरुद्ध पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा एक घण्टा धर्ना दिएका छन ।

नेपाल पत्रकार महासंघको आह्वानमा देशभरी धर्ना दिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि पनि सोही क्रममा एक घण्टे धर्ना दिइएको नेपाल पत्रकार महासंघ पर्साको अध्यक्ष ओम प्रकाश खनालले जानकारी दिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।

बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको धर्नापछि बोल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सरकारी सञ्चारमाध्यममा मात्रै सरकारी विज्ञापन दिने निर्णयविरुद्धको आन्दोलन जारी रहने बताए । सरकारले उक्त निर्णय फिर्ता नलिए पत्रकार समुदाय थप सशक्त आन्दोलनमा उत्रिने उनले बताए ।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार प्रेसमाथि नियन्त्रण कायम गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाए । उनले २०६० सालमा तत्कालीन राजाले प्रजातन्त्रमाथि हस्तक्षेप गर्दा सबैभन्दा पहिले सञ्चारमाध्यमलाई निशानामा पारिएको स्मरण गर्दै अहिलेको सरकारले पनि मिडियालाई नै पहिलो लक्ष्य बनाएको बताए ।

“यो सरकारको स्वेच्छाचारी र निरंकुश अभ्यासको प्रयास हो । तर मिडियाले सरकारलाई निरंकुश बन्न कहिल्यै दिँदैन,” अध्यक्ष खनालले भने ।

उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै पूर्ण लोकतन्त्रका लागि स्वतन्त्र प्रेस र प्रेस स्वतन्त्रताका लागि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेको बताए ।

धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, प्रेस सेन्टर नेपाल मेधशका अध्यक्ष निरज पिठाकोटे पर्साका अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत सञ्चारकर्मी तथा विभिन्न सञ्चारमाध्यमका सञ्चालकहरूको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button