पर्साको क्षेत्र -२ एमाले को लालकिला बन्दै, मुकेश द्विवेदी, मनोज कलवार लगायतका नेता, कार्याकर्ता एमाले मा प्रवेश
पर्सा, २३ माघ । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रम वीरगंजमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराई सहभागी हुनु भएको थियो।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी विभिन्न नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेमा प्रवेश गरेका छन्। ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज का पूर्व सभापति तथा जसपाका युवा नेता मुकेश द्विवेदी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष जसपा नेपालका नेता मनोज कलवार, वडा नम्बर ३ का पूर्व वडा सदस्य तथा वीरगञ्ज न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरसहितका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय उपमहासचिव योगेश भट्टराई र पर्सा क्षेत्र न २ को उम्मेदवार रिमा कुमारी यादव को हातबाट टीका र माला लगाई विधिवत रूपमा नेकपा एमालेमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि बोल्दै नेता मुकेश द्विवेदीले नेकपा एमालेको नीति, सिद्धान्त र उद्देश्यबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताउनुभयो। उहाँले पार्टीको हितलाई मध्यनजर गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी मन्तव्यका क्रममा पार्टी प्रवेश गर्ने अन्य नेताहरूले पनि अबदेखि पार्टीको मूल उद्देश्यअनुसार संगठित रूपमा अघि बढ्दै पर्सा जिल्लामा नेकपा एमालेको विजय सुनिश्चित गर्नु नै आफ्नो पहिलो धर्म भएको स्पष्ट पारे।
कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज, वीरगञ्ज महानगरपालिकाका प्रथम नगरप्रमुख विजय कुमार सरावगीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा नेकपा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो।
