
विराटनगर । नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजको व्यवस्थापन अन्ततः पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ ।
शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रणसमेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ ।
विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबुक पेज लामो समय देउवा समूहको प्रभावमा रहेको आरोप लाग्दै आएको थियो । सो पेजबाट प्रायः शेर बहादुर देउवा समूहका गतिविधि र सूचनामात्र प्रकाशित हुने गरेको भन्दै आलोचना पनि हुँदै आएको थियो ।
पार्टी सभापति गगन थापा शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिइसकेका छन् । पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
विहीबार भने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वानसम्बन्धी सूचना पार्टी सचिव प्रकाश शर्माद्वारा कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।सूचनाअनुसार केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको यो पहिलोपटक पार्टी कार्यालयमा बस्ने औपचारिक बैठक हो ।
यसअघि विवादका कारण कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणलगायतका निर्णय पार्टी कार्यालयबाहिरैबाट गर्दै आएको थियो । पार्टी फुटको संघारमा पुगेको भन्दै आलोचना भइरहेका बेला पछिल्लो गतिविधिले कांग्रेस क्रमशः एकताबद्ध हुन खोजिरहेको संकेत देखिएको नेताहरू बताउँछन् ।
विहीबार मात्रै मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता डा.शेखर कोइरालाले कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको दाबी गरेका थिए । विशेष महाधिवेशनलाई स्वीकार गरिसकेका कोइराला निर्वाचनमा पनि सबै एक भएर जानुपर्ने पक्षमा दृढ देखिएका छन् ।



