पर्साको पोखरिया नगरपालिकाको ९ औं नगर सभा सम्पन्न, ४४ करोड ४० लाखको बजेट प्रस्तुत
रामनिवास कुमार पटेल
पर्सा ,९असार ।
पर्साको पोखरिया नगरपालिकाको ९ औं नगर सभा अधिवेशन सम्पन्न भएको छ। पोखरिया–४ स्थित प्राचीन शिव मन्दिरको धर्मशालामा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
नगरपालिका अध्यक्ष प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा बजेट बुक उपप्रमुख रुबी ठाकुरको हस्तान्तरणपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बजेट प्रस्तुत गरेका थिए । सभामा ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो। बजेट सार्वजनिक कार्यक्रममा वडा अध्यक्षहरु साथै कार्यपालिका सदस्यहरु, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिरहेको थियो।
सभामा अध्यक्ष चौहानले नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सुझाव र सहयोग गर्ने आम नागरिक, स्थानीय प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै नीति कार्यान्वयनमा निरन्तर साथ–सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुले गरेका थिए ।



