
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको बताएका हुन् ।
उनले विगतमा भएको राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा अशा जाग्न नसकेको उल्लेख गर्दै अब देशले थप द्धन्द र निषेधको राजनीति थेग्न नसक्ने बताए ।
अध्यक्ष लिङ्देनले सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने दावी गरेका छन् । आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधिहरू अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे ।
अध्यक्ष लिङ्देनले आफु अध्यक्षमा रहँदा नरहँदा पनि पार्टी र कार्यकताको शिर झुक्ने कुनै काम नगरेको र भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा सधै अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित ढंगले प्रतिस्पर्धा गर्न उनले उम्मेदवारहरूलाई सुझाव दिए ।



