वीरगञ्ज,२५ जेठ ।
पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ को चौथो दिन आज आइतबार पनि वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी सडक सुरक्षाबारे नागरिकहरूलाई जानकारी प्रदान गरिएको छ । कार्यक्रम अन्तर्गत निशुल्क आँखा जाँच सिविर, ट्राफिक सचेतना पर्चा वितरण, स्टिकर टाँस्ने कार्य तथा व्यावहारिक ज्ञान प्रदानजस्ता क्रियाकलाप समेटिएका थिए । कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए ।
उनका अनुसार ट्राफिक सप्ताहको अवसरमा आगामी दिनहरूमा वीरगञ्जका विभिन्न क्षेत्रमा सडक सुरक्षा अभिवृद्धिका लागि सचेतनामूलक अभियानहरूलाई अझ प्रभावकारी बनाइनेछ । उनले भने, “नागरिकको सहभागिता र सहकार्यबिना सुरक्षित र अनुशासित यातायात प्रणालीको परिकल्पना गर्न सकिन्न। ट्राफिक सप्ताहलाई हामी त्यसकै अवसरका रूपमा प्रयोग गर्दैछौं ।“यसै अवसरमा नयाँ बसपार्क क्षेत्रमा सम्पन्न आँखा जाँच सिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । चालक, सहचालक तथा अन्य सवारीसाधनसम्बन्धी कर्मचारीहरूका लागि सञ्चालन गरिएको उक्त सिविरमा १ सय ७ जनाले आँखा परीक्षण गराएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख निरोज चौलागाईं, ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, श्रीपुर प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक, समाजसेवी दिलीप कार्की, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, प्रभु अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । यस अभियानमा दुई वटा शैक्षिक संस्थाका विद्यार्थीहरूको सक्रिय सहभागि रहेका छन् । वीरगञ्जस्थित साउथजोन मावि र एन्जल वल्र्ड स्कूलका विद्यार्थीहरूलाई विभिन्न व्यस्त चोकहरूमा खटाई पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिएको थियो। विद्यार्थीहरूद्वारा ट्राफिक सचेतनामूलक पर्चा तथा पम्पलेट वितरण गरिनुका साथै सार्वजनिक स्थानमा ट्राफिक शिष्टाचारबारे जानकारीसमेत प्रदान गरिएको थियो । साभार:द मधेश टाइम्स
