प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापति निर्विरोध निर्वाचित

3

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्। समितिको सभापतिका लागि आज उम्मदेवारी दर्ताको समय राखिएकोमा १० समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

१० वटा समितिमा एकल उम्मेदवारी पर्दा दुई वटा समितिमा भने दुई–दुई जनाको उम्मेदवारी परेको छ ।

अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकै सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाकै रहवर अन्सारी, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा, संघीय संसद्को संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल, सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा रास्वपाकी आकृति अवस्थी, पूर्वाधार विकास समितिको सभापतिमा रास्वपाकै आशिष गजुरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी निर्वाचित भएका हुन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि भने निर्वाचन हुने भएको छ । समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र एमालेका गुरुप्रसाद बरालले उम्मेदवारी दिएका छन्।

यस्तै, संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको छ। यसमा रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टीकी मदनकुमारी शाहले उम्मेदवारी दिएकी छन्।

Leave a comment