ओली पक्राउको विरोधमा वीरगंजमा पनि बिरोध प्रर्दशन, रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले पर्साले शनिबार वीरगञ्जमा प्रदर्शन गरेको छ। पर्सा जिल्लाको आयोजनामा घण्टाघर क्षेत्रमा भएको विरोध प्रदर्शनमा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले “विदेशी दलाल मुर्दावाद”, “गृहमन्त्री राजीनामा दे”, “बालेन सरकार मुर्दावाद” जस्ता चर्का नाराहरू लगाउँदै सरकारविरुद्ध आक्रोश पोखेका थिए। विशेषगरी, पार्टी अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेका थिए ।
कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, प्रदेशसभा सदस्य बिना शर्मा, नेता जालिम मियाँ लगायतका नेताहरूले सम्बोधन गर्दै वर्तमान सरकारको कदमप्रति कडा आपत्ति जनाएका थिए।त्यस्तै, युवा संघ पर्साका अध्यक्ष सुवास साह, महानगर अध्यक्ष लियाकत अली, युवा नेताहरू सुजित गिरी, राकेश मेहता, अंगद गुप्ता, असरफ अली लगायत सयौं नेता तथा कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए। उनीहरूले सरकारको कदमलाई ‘लोकतन्त्रविरोधी’ भन्दै संघर्षका कार्यक्रम अझ सशक्त बनाउने चेतावनी दिएका छन्।
ओलीको पक्राउपछि देशका विभिन्न स्थानमा विरोधका कार्यक्रम बढ्दै गएका छन्। वीरगञ्जको प्रदर्शन त्यसकै निरन्तरता भएको स्थानीय नेताहरूले बताएका छन्।



