राजनीतिसमाचार

उम्मेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली परिचालन , चौधरी प्रहरीको निगरानीमा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्सागढी नगरपालिका–३ बड्निहार चोकमा चेकजाँचका क्रममा उम्मेदवार सवार गाडीबाट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार राति करिब ११ बजे चेकजाँचका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीको डिक्कीबाट शंकास्पद वस्तु बरामद भएको हो। त्यसपछि गाडी तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको परीक्षण सुरु गरेको छ। सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै बड्निहार चोक आसपासको क्षेत्र घेराबन्दी गरिएको छ। गाडीलाई सुरक्षित स्थानमा लगेर सेनाले नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ।

उक्त गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको बताइएको छ। गाडी चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेका छन्। हाल गाडीमा सवार उम्मेदवारसहित सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। वस्तुको प्रकृति र घटनाको वास्तविकताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button