प्रधानमन्त्रीले उठाइन् पार्टीको झन्डा जलाइएको घटना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन् । उनले फागुपूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम पूर्वमा सम्भावित हिमपातजस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलमा उनले विभिन्न जिल्लामा स्थानीय समस्या रहेको उल्लेख गरिन् । तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र उनीहरूबीचको प्रतिस्पर्धा झडपका रूपमा बदलिन सक्ने उनले आशंका व्यक्त गरिन् ।
उनले पार्टीहरूका झन्डा जलाउनेजस्ता घटना पनि ‘रिपोर्ट’ भएका र यसले निर्वाचनका समयमा तनाव बढाउन सक्ने बताइन् । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेकामा उनले जोड दिइन् ।
निर्वाचन बहिष्कारकर्ताको प्रभावकारिता भने कमजोर देखिएको उनले टिप्पणी गरिन् । कतिपयले निर्वाचन बहिष्कारका नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा/पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइन् ।



