
काठमाडौं । नेकपा (एमाले)का बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले नेकपा (एमाले)को सपना मुलुक बनाउने रहेको बताएका छन् ।
ढुंगेलले एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीले शनिबार कोटेश्वरमा आयोजना गरेको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै एमालेको मुख्य उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको स्पष्ट पारे । उनले मुलुक बनाउने पार्टीलाई कमजोर बनाएर देश नबन्ने धारणा राखे । अहिलेको निर्वाचन मुलुक बनाउने र जलाउनेबीचको लडाइँ भएको उल्लेख गर्दै उनले देश बनाउने शक्तिलाई जिताउन एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरे
।ढुंगेलले एमालेबाहेक अन्य पार्टीले विकासको ठोस काम गर्न नसकेको दाबी गरे । रामेछापमा एमालेबाहेक अरू कसैले विकासको काम गरेको प्रमाणित गर्न सके आफूहरूले पार्टीको झण्डा फालिदिने चुनौती समेत दिए । एमालेले गरेको विकासमा टेकेर पुरानाले केही गरेनन् भन्नेहरूलाई जनताले सबक सिकाउनुपर्ने उनको धारणा थियो ।
उनले एमालेको झण्डा जलाउने, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा सार्वजनिक सम्पत्ति र व्यक्तिका घरमा आगजनी गर्नेहरू नै आफूलाई ‘नयाँ’ भन्दै हिँडेको बताए । यस्तो खालको नयाँ शक्ति नेपाली जनतालाई नचाहिएको उनले बताए ।
‘पुलिसका ड्रेस खोस्ने र भाटभटेनीका रक्सी चोर्नेलाई नयाँ भन्ने हो भने देशको विकास र समृद्धिका लागि काम गर्नेलाई के भन्ने ?’ उनले प्रश्न गरे ।
एमाले सत्तामा आए देश बनाउँछ भन्ने डरले केही शक्तिहरूले देश जलाएका बताउँदै उनले विगतका घटनाहरू स्मरण गरे ।
‘सिंहदरबार जलाएको बिर्सिएका छैनौँ, सर्वोच्च अदालत जलाएको बिर्सिएका छैनौँ, संसद भवन जलाएको बिर्सिएका छैनौँ, पुलिसको ड्रेस र बन्दुक खोसेको बिर्सिएका छैनौँ, तिमीहरूले जानेकै जलाउन हो, बनाउन होइन,’ उनले भने ।



