नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

12

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको हो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् । उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्दै २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।

उनी २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पुरा गरिसकेकी छन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताइन् । उनले कम्पनीलाई ग्राहक केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने बताइन् ।

Leave a comment