राष्ट्रिय

सिडिओ सरुवाकाण्डले फालिए गृहसचिव

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ। गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ । उनलाई लोक सेवा आयोगमा सरुवा गरिएको छ । गृह मन्त्रालयमा सचिव राजकुमार श्रेष्ठलाई खटाइएको छ।

चुनावको मुखमा एक्कासी गृहसचिव फेरिनुलाई धेरैले अनौठो मानेका छन् । किनकी वर्तमान सरकारले रोजेर नै साढे तीन महिनाअघि उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको थियो।

गृह प्रशासन बुझेका दंगाललाई तुलनात्मक रुपमा राम्रा कर्मचारी मानिन्छन् । तर, पछिल्लो समय मन्त्रालयमा उनी मन्त्रीभन्दा शक्तिशाली बनेर जथाभावी निर्णय गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्की समेत रिसाएकी थिइन्।

खासगरी सिडिओ सरुवाको विषयमा सचिव दंगालमाथि प्रश्न उठेको थियो। गृहजिल्ला भक्तपुरका कर्मचारीलाई छानी छानी सिडिओ बनाएका थिए। सिडिओ सरुवामा गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्ण अधिकार उनलाई दिएका थिए।

सो अधिकार दुरुपयोग गरेको आरोप लागेको छ। शुक्रबार मात्र भएको सिडिओ सरुवामा पनि गृहको कुनै अनुभव नै नभएकाहरुलाई समेत महत्वपूर्ण जिल्लामा खटाइएको छ ।

कतिपय जिल्लाबाट दुई महिनामै सिडिओ हटाइएको थियो। कतिपय सरुवामा चलखेलको समेत सूचना पुगेपछि गृहमन्त्री समेत उनीसँग रिसाएका थिए।

गृह मन्त्रालयमा सरुवा भएका श्रेष्ठ सोमबार नै हाजिर भइसकेका छन्। उनी लामो सयमदेखि गृहमा सरुवा हुने प्रयासमा थिए। गोरखा स्थायी घर भएका उनी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा पनि गृहमा जाने प्रयासमा थिए।

त्यसबेला असफल भएका उनी यसपटक सफल भएका छन्। उनको सरुवामा प्रधानमन्त्री निकट एक स्वार्थी समूह पनि हाबी भएको चर्चा सिंहदरबारमा छ। साभार अनलाईन नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button