
पर्सा । पर्सामा आज पनि कठ्यांग्रिदो चिसो कायमै रहेको छ। हिजोको तुलनामा आज हुस्सु केही कम भए पनि शीत झरिरहेका कारण ठिहिर्याउने खालको चिसो महसुस भइरहेको छ।
पर्सासहित तराई–मधेशका जिल्लामा हिजो दिनभर बाक्लो हुस्सु र शीतलहर चलेका कारण घाम लाग्न सकेन।आज मौसम केही खुले पनि घाम भने देखापरेको छैन। हाल पर्सासहित मधेश प्रदेशको मौसम धुम्मिएको अवस्थामा रहेको छ। पानी छिट्याएझैँ शीत झरिरहेकाले बाहिर हिँडडुल गर्नुपर्ने सर्वसाधारणलाई समस्या भइरहेको छ।
पछिल्ला दुई दिनदेखि बढ्दै गएको चिसोले विपन्न परिवारलाई थप गाह्रो पारेको छ। न्यानो कपडा तथा राति ओढ्ने–ओछ्याउनेको अभावका कारण उनीहरू बढी प्रभावित भएका छन्। चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरू विरामी पर्न थालेको चिकित्सकहरूले बताए।
शीतलहर चलेका वेला अत्यावश्यक कामबाहेक अनावश्यक हिँडडुल नगर्न, न्यानो कपडा लगाउन, सावधानीपूर्वक आगो बालेर ताप्न, झोलिला तथा ताता खानेकुरा सेवन गर्न र शरीरमा चिसो नगढ्ने उपाय अपनाउन आवश्यक रहेको डाक्टरहरूको सुझाव रहेकाे छ।
बढ्दो चिसोले पशुपक्षी पालन तथा खेतीपाती गर्ने किसानलाई समेत समस्या भएको छ।



