राष्ट्रिय मुक्ति पार्टीको निष्कर्ष- सरकारले जेनजी आन्दोलनको मर्म बुझ्न सकेन

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बुझ्न नसकेको निष्कर्ष निकालेको छ।
हालै बसेको केन्द्रीय समिति बैठकले आन्दोलनमा बलिदान दिएका युवाहरूले उठाएका माग सुन्ने सट्टा सरकार प्रशासनिक सन्तुलन र नियुक्तिमा व्यस्त रहेको निष्कर्ष निकालेको नेता केशव झाले बताए।
प्रधानमन्त्रीले यही संविधान भित्रै बसेर नै सबै काम गर्छु भनिसकेकाले जेनजी पुस्ताको माग यथास्थितिमा पुरा हुन नसक्ने भएकाले संविधान पुनर्लेखन, सत्य छानबिन आयोग र भ्रष्टाचार नियन्त्रणका ठोस कदम चाल्न माग गरेको छ।
उनले भने, ‘नेपाल हाल केवल शासन वा सत्ताको मात्र होइन, विचार, दिशा र विश्वासको गम्भीर संकटमा छ। भ्रष्टाचार, असमानता, वैचारिक शून्यता र औपनिवेशिक मानसिकताबाट थिचिएको देशमा जेनजी आन्दोलनले ऐतिहासिक परिवर्तनको द्वार खोलेको भए पनि राजनीतिक अस्थिरता र शक्ति शून्यताको अवस्था उत्पन्न भएको छ।’



