माग पूरा हुने आश्वासनपछि पूर्वमन्त्री साहले तोडे आमरण अनशन

18

काठमाण्डौ । पूर्व मन्त्री सञ्जय कुमार साह (टक्ला) ले नख्खु कारागारमा ६ दिनदेखि जारी आफ्नो आमरण अनशन तोडेका छन् ।

कारागार विभागले कैदीहरूलाई फिर्ता बोलाएपछि आफैँ कारागार फर्किने क्रममा काभ्रेमा प्रहरीले दुव्र्यवहार गरेको र आफ्नो चरित्र हत्या भएको भन्दै उनी अनशन बसेका थिए ।

अनशनको छैटौं दिनमा राष्ट्रिय मानव अधिकार आयोगको एक विशेष टोलीले उनीसँग भेट गरी अनशन तोडाउन सफल भएको हो ।

टोलीले साहको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै उनको हरेक माग कानुनबमोजिम पूरा गर्नका लागि पहल गरिने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन् ।

साहले विगत १२ वर्षदेखि आफूले नगरेको अपराधमा कैदी जीवन बिताइरहेको गुनासो गर्दै आएका छन् । उनले अहिलेको अन्तरिम सरकारले आफ्नो मुद्दामा निष्पक्ष पुनः छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् ।

आफ्नो निर्दोषिता प्रमाणित गर्न उनी विगतदेखि नै पोलिग्राफ र नार्को परीक्षणका लागि तयार रहेको बताउँदै आएका थिए । उनले यी परीक्षणहरूबाट वास्तविक सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरेका थिए ।

Leave a comment