खानेपानी संस्थानकै पानीबाट हैजा फैलिएको पुष्टि, खानेपानीको पाइपमा ढल मिसिएको भेटियो

पर्सा । नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको पानीबाटै पर्साको वीरगञ्जमा हैजा संक्रमण फैलिएको पाइएको छ । संक्रमितमध्ये अधिकांशले नेपाल खानेपानी संस्थानले उपलब्ध गराउने धाराको पानी खाएका थिए । सो क्षेत्रमा पाइप फुटेर नालाबाट खानेपानीमा ढल मिसिएको पुष्टि भएको छ । खानेपानी र ढल एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र नालासँगै पाइप जडान गरिएको हुँदा हैजा फैलिएको पाइएको हो ।
हिजो आइतबार खानेपानीमन्त्री प्रदीप यादवसहित प्राविधिक टिम पानी परीक्षणका लागि वीरगञ्जका विभिन्न वडामा पुगेको थियो । अहिले खानेपानी तथा ढल व्यवस्थापन विभागबाट ‘पियुष’लगायतका पानी शुद्धीकरण सामग्री सहितको मोबाइल टोली परिचालित गरिएको मन्त्री यादवले बताउनुभयो। यो टिमले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको काम गरिरहेको छ ।
दूषित खानेकुरा र पानीका कारण सर्ने हैजा तीव्र रूपमा फैलिँदा वीरगञ्जका विभिन्न अस्पतालमा बिरामीको चाप असामान्य तरिकाले बढेको स्वास्थ्यकर्मीले बताएका छन् । अहिलेसम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कतिपय अस्पतालबाट परीक्षण रिपोर्ट आउन बाँकी छ ।नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हैजा पुष्टि भएका संक्रमितभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन् । बेड नपुग्दा बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार भइरहेको छ ।
यसैबीच, पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।
बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो । निमित्त प्रमु जिल्ला अधिकारी कार्कीले झाडापखाला, हैजा रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो।
बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति मार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ । हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।



