नेपाल मेडिकल कलेज काठमाण्डौले नयाँ एकेडेमिक डाइरेक्टरमा डा. नुसरत जहाँलाई नियुक्त

वीरगञ्ज । नेपाल मेडिकल कलेजले नयाँ एकेडेमिक डाइरेक्टरको रूपमा अनुभवी चिकित्सक तथा शिक्षाविद् डा. नुसरत जहाँ अन्सारी एमबीबीएस र एमडीलाई नियुक्त गरेको छ। कलेज सञ्चालक समितिको निर्णयअनुसार डा. अन्सारीले औपचारिक रूपमा आफ्नो पदभार सम्हालेका छन्।
बुधवार कलेज परिसरमा आयोजित विशेष कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन र प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले डा. अन्सारीलाई स्वागत गर्दै पदभार ग्रहण गराएका थिए। कार्यक्रममा कलेज प्रशासन, संकाय सदस्य, चिकित्सक तथा विद्यार्थीहरूले पनि उहाँलाई बधाई र शुभकामना व्यक्त गरेका थिए।
कलेज अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले डा. नुसरतको नियुक्ति कलेजको शैक्षिक र व्यवस्थापकीय क्षेत्रमा महत्वपूर्ण मोड हुने विश्वास व्यक्त गर्दै भने, “डा. नुसरतले आफ्नो अनुभव, दृष्टिकोण र नेतृत्व क्षमताबाट कलेजको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्याउनेछन्।”
डा. अन्सारीले पदभार ग्रहणपछि कलेजको शैक्षिक गुणस्तर, अनुसन्धान क्षमता र विद्यार्थीमैत्री वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँका अनुसार, मेडिकल शिक्षा केवल पाठ्यक्रममा सीमित नभई व्यवहारिक दक्षता, अनुसन्धान र मानवता–केन्द्रित सेवा प्रवर्धनमा केन्द्रित हुनुपर्छ।
नेपाल मेडिकल कलेजले हालका वर्षहरूमा शैक्षिक र पूर्वाधार विस्तारमा तीव्र गति लिएको छ। नयाँ नेतृत्वको आगमनसँगै कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक प्रतिष्ठा अझ मजबुत पार्ने अपेक्षा गरिएको छ।
कलेज परिवारका तर्फबाट डा. नुसरत जहाँ अन्सारीलाई औपचारिक स्वागत गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी र प्रेरणादायी होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।



