छिपहरमाई गाउँपालिकाको बजेट २७ सदस्यद्वारा पारित, उपप्रमुखका श्रीमानको भूमिकामाथि प्रश्न उठ्दै

वीरगंज । छिपहरमाई गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट गाउँसभाबाट बहुमतले पारित भएको छ। कुल २८ सदस्य रहेको गाउँसभामा २७ जनाको समर्थनमा बजेट पारित गरिएको हो।
गाउँपालिकाका जनप्रतिनिधिहरूले बजेट पारित भएको जानकारी सम्पूर्ण गाउँवासीमा गराएका छन्। उनीहरूले संविधानको भावना अनुसार कुनै जनप्रतिनिधिको पति वा श्रीमानलाई पालिकाको प्रशासनिक कार्यका लागि आधिकारिक हैसियतमा नचिनिने प्रष्ट पारेका छन्।
साथै, उपप्रमुखको भूमिकालाई लिएर देखिएको विवाद समाधान गर्न संवाद र छलफलको ढोका सधैं खुला रहेको जनप्रतिनिधिहरूले बताएका छन्। “जनताले निर्वाचित गरेका उपप्रमुखसँग हामी कुनै पनि बेला छलफल गर्न तयार छौं,” एक जनप्रतिनिधिले बताए।
हालै उच्च अदालतमा विचाराधीन रहेको मुद्दाले आगामी दिनमा पालिकाको नेतृत्व कसले गर्ने भन्ने प्रश्नको टुंगो लगाउनेछ—उपप्रमुख स्वयं वा उनका श्रीमान।जनप्रतिनिधिहरूले यस घटनालाई देशका अन्य पालिकाहरूका लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।
“संविधान, कानुन र जनताप्रतिको उत्तरदायित्वको आधारमा हामी अघि बढ्छौं,” उनीहरूले उल्लेख गरेका छन्।



