क्यासिनोबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जना धरौटीमा छुटे

बीरगंज । वीरगन्जको एक क्यासिनोमा जुवा खेलिरेहको अवस्थामा पक्राउ परेका पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव तथा इन्सपेक्टर प्रदीप पौडेलसहित आठ जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशमा सोमबार अध्यक्ष यादवसहित पक्राउ परेका आठै जना धरौटी बुझाएर रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्सा स्रोतका गाउँपालिका अध्यक्ष यादवले २५ हजार रुपैयाँ, प्रहरी निरीक्षक प्रदीप पौडेलसँग १८ हजार रुपैयाँ धरौटी माग भएको छ। त्यसैगरी क्यासिनोका कर्मचारी विजय कुमार पटेल, दिनेश कुमार पटेल र जयदेव साहले जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । यस्तै, चन्दन सहनी र ओमप्रकाश बैठा तथा क्यासिनोका कर्मचारी एवं अभिनेता प्ररदेशी साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
वीरगन्ज महानगरपालिका १४ गण्डकस्थित क्लार्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोनबाट भदौ २० गते राति साढे १० बजे नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । जसक्रममा गाउँपालिका अध्यक्ष, इन्सपेक्टरसहित पक्राउ परेका हुन्। पक्राउ परेका आठै जना ९ दिनपछि सोमबार धरौटी बुझाएर रिहा भएका हुन्। पक्राउ परेका इन्सपेक्टर पौडेल निलम्बनमा परेका छन्।



