काभ्रे बस दुर्घटना : मृतक ८ जनाकै पहिचान खुल्यो

रामेछाप । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको हो । दुर्घटनामा काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका १ अमलदार तथा सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी १युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोशी गाउँपालिका–६ निवासी अन्दाजी ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङको दुर्घटनामा ज्यान गएको हो ।
त्यस्तै, दैलेख घर भई हाल नेपाली सेनामा अमलदार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ निवासी २२ वर्षीया सुमी लामाको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस शुक्रबार दिउँसो बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट ३ सय मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । एकै गाउँका ६ जनाको मृत्यु र धेरै जना घाइत भएपछि काभ्रेको रोशी अहिले शोकमा डुबेको छ ।



