सातै प्रदेशमा निर्वाचन समीक्षा गर्दै कांग्रेस

65

काठमाडौं । नेपाली कांग्रेसले आगामी दिनमा देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

 

पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोट अनुसार १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गरिनेछ । साथै, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा अध्ययन र समीक्षा प्रक्रिया पनि अगाडि बढाइनेछ । चैत २३ गते कोशी प्रदेशअन्तर्गत विराटनगरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने त्यसको संयोजक डिला संग्रौला पन्तले गर्नेछिन् ।

 

यस्तै, फरमूल्लाह मंसुरको संयोजकत्वमा चैत्र २५ गते मधेश प्रदेशअन्तर्गत जनकपुरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ ।

 

यस्तै, गण्डकी प्रदेशअन्तर्गत पोखरामा चैत २७ गते देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ ।

 

लुम्बिनी प्रदेशअन्तर्गत दाङमा चैत २९ योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढाको संयोजकत्वमा कार्यक्रम हुने बैठकले निर्णय गरेको छ ।

 

यसैगरी, सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेहीको संयोजत्वमा, बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते बहादुरसिंह लामाको संयोजकत्वमा समीक्षा कार्यक्रम आयोजना हुनेछ ।

 

प्रेस नोट अनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरिनेछ । कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय सभापतिहरू तथा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहनेछ । सम्बन्धित जिल्ला कार्यसमितिहरूले कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछन् ।

Leave a comment