–अन्जनी कुमार अधिकारी
उदयपुर । बैंकमा राखेको खाताको रकम हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैंककै कर्मचारीको निवेदनका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बैंककै औपचारिक उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिएर बैंकिङ कसुरमा अनुसन्धान अघि बढाइएको हो । उनले भने, “बैंक व्यवस्थापनबाट आएको उजुरीपछि बानियाँलाई पक्राउ गरिएको हो, हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।”
प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले बैंकमा रहेको रकम दुरुपयोग गरेको देखिएको प्रहरीको भनाइ छ । बैंक व्यवस्थापनले आन्तरिक रूपमा गरेको छानबिनबाट अनियमितता पुष्टि भएपछि घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।
हाल बानियाँ प्रहरी हिरासतमा छिन् । उनीविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
यस प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता रहेको वा नरहेको विषयमा पनि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप तथ्य र रकमको यथार्थ विवरण संकलन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ ।
