भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपतिबीच टेलिफोन वार्ता, के कुराकानी भयो ?

काठमाडौं । मध्यपूर्वमा जारी युद्धकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसूद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । यो जानकारी प्रधानमन्त्री मोदी आफैंले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
मोदीले कुराकानीका क्रममा राष्ट्रपति पेजेश्कियानलाई ईद र नौरोजको शुभकामना पनि दिए । उनले यस क्षेत्रको महत्त्वपूर्ण पूर्वाधारमा भएको आक्रमणको निन्दा पनि गरे । उनले यस्ता आक्रमणहरूले क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने र विश्वव्यापी आपूर्ति शृङ्खलाहरू अवरुद्ध गर्ने बताए ।
प्रधानमन्त्रीले लेखेका छन्– मैले इरानी राष्ट्रपति डा. मसूद पज्दाकियनसँग कुरा गरेँ । हामीले आशा व्यक्त गरेका छौँ कि यो उत्सवको मौसमले मध्य पूर्वमा शान्ति र स्थायित्व ल्याउनेछ ।
मोदीले सुचारु व्यापारको लागि समुद्री मार्गहरू खुला र सुरक्षित राख्नु महत्त्वपूर्ण रहेको बताए । साथै, उनले इरानमा बसोबास गर्ने भारतीयहरूको सुरक्षामा इरानले गरेको सहयोगको लागि पनि धन्यवाद दिए ।
अमेरिका–इजरायल र इरानबीच फेब्रुअरी २८ बाट युद्ध भएदेखि भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपतिबीच यो दोस्रो फोन वार्ता हो । यसअघि उनीहरुबीच मार्च १२ मा कुराकानी भएको थियो ।



