प्रहरी हवल्दारकै संलग्नतामा व्यापारीको ६० लाख लुटियो, प्रहरीसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंमा सस्तोमा सुन किन्ने प्रलोभनमा परेका एक व्यापारीबाट ६० लाख रुपैयाँ लुटिएको घटनामा प्रहरीसहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार समूहले नक्कली कारोबारको बहानामा व्यापारीलाई बोलाएर रकम लुटेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न एक प्रहरी हवल्दार समेत पक्राउ परेका छन्। अन्य तीन जनालाई विभिन्न स्थानबाट नगद, मोटरसाइकल र मोबाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार ३८ वर्षका कर्णबहादुर सुनार पनि पक्राउ गरेको हो। यसैगरी, लुटपाटमा जाँदा प्रयोग गरेको अपाचे मोटरसाइकल, मोबाइल लगायतका प्रमाणसहित रसुवा नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौँ तारकेश्वर ५ लोलाङ बस्ने ३२ वर्षका विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका ७ घर भई लोलाङमै बस्ने २८ वर्षका जीवन तामाङ पक्राउ परेका छन् ।
जीवन तामाङलाई माछापोखरीबाट पक्राउ गर्दा उनको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको २२० सीसीको पल्सर मोटरसाइकल र ४ लाख ३३ हजार रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेकामाथि डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।



