समाचारसमाज

अपहरण शैलीमा वीरगञ्जबाट नेपाली नागरिकलाई भारतीय प्रहरीले गर्‍यो गिरफ्तार, पर्सा प्रहरी बेखबर

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । आइतबार राति भारतीय प्रहरीले नेपालको सार्वभौम क्षेत्रमा प्रवेश गरी नेपाली नागरिकलाई जबरजस्ती नियन्त्रणमा लिएर भारततर्फ लगेका छन् । घटनाले सीमा क्षेत्रमा फेरि एक पटक नेपाल-भारत सुरक्षा समन्वयको गम्भीर प्रश्न उठाएको छ ।

पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका-५ खजुरिया निवासी ४० वर्षीय मेघराज साह रहेका छन् । उनी पछिल्लो समय वीरगञ्ज महानगरपालिका-१३ राधेमाई टोलमा बस्दै आएका थिए ।

परिवारका अनुसार राति करिब १० बजेतिर भारतीय नम्बर प्लेट भएको सेतो रङ्गको थार जिपमा सादा पोसाकका तीन जना व्यक्ति आएका थिए । उनीहरूले आफूलाई भारतीय प्रहरी भएको परिचय दिए र मेघराजलाई जबरजस्ती गाडीमा हालेर भारततर्फ लगेका छन् ।

स्रोतका अनुसार आफूलाई भारतीय प्रहरी दाबी गर्ने अपरिचित व्यक्तिहरू पहिले साहको गाउँ खजुरिया पुगेका थिए । त्यहाँ नभेटेपछि सोझै वीरगञ्ज-१३ राधेमाईस्थित उनको डेरामा आएर राति नै अपहरण शैलीमा लगेका हुन् ।

घटनाको समयमा नेपाल प्रहरीको कुनै उपस्थिति नभएको पाइएको छ । साहलाई पक्राउ गर्ने विषयमा भारतीय प्रहरीको तर्फबाट कुनै किसिमको समन्वय अथवा पूर्व सूचना नभएको पाइएको छ ।

भारतीय प्रहरीले साहलाई खोज्नुको कारण हालै भारतमा भएको ठूलो परिमाणको लागूऔषध बरामदसँग जोडिएको बुझिएको छ । केही दिनअघि भारतमा ५० किलोग्रामभन्दा बढी चरेससहित पक्राउ परेका एक व्यक्तिको बयानमा मेघराज साहको नाम जोडिएको स्रोतले दाबी गरेको छ । सोही बयानको आधारमा भारतीय पक्षले एकतर्फी कारबाही गर्दै साहलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी हरिबहादुर बस्नेतले घटनाबारे नेपाल प्रहरीलाई कुनै जानकारी नभएको बताए । उनले भने, “हामीलाई भारतीय पक्षबाट कुनै खबर आएको छैन । यदि यस्तो भएको हो भने पहिला हामीलाई जानकारी गराउनुपर्थ्यो । अहिलेसम्म यो खबर झूटो पनि हुन सक्छ ।”

परिवारले भने मेघराजको सुरक्षाको गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल कूटनीतिक पहल गरी आफ्नो आफन्तलाई फिर्ता ल्याउन आग्रह गरेका छन् ।

सीमावर्ती क्षेत्रमा यस्ता घटना पहिलो पटक भने होइन । यसअघि पनि भारतीय सुरक्षा फौजले नेपाली भूमिबाट नागरिकलाई नियन्त्रणमा लिएर लग्ने क्रम दोहोरिँदै आएको छ । तर अधिकांश अवस्थामा नेपाल प्रहरी वा प्रशासनलाई पूर्व जानकारी नदिने प्रवृत्तिले दुई देशबिचको सुरक्षा समन्वयमा गम्भीर खाडल रहेको पुष्टि हुने गरेको छ । घटनाले फेरि एक पटक खुला सीमाको दुरुपयोग र एकपक्षीय कारबाहीको गम्भीर जोखिम उजागर गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button