स्थानीय

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य बेतिया जिल्ला उजहरुपरजिलवा भागा श्रीनगर–३ घर भएका अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन् ।

सोमबार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्सा क्षेत्रबाट उनलाई १०५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका चौधरीलाई नियन्त्रणमा लिएर जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका चौधरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाको विषयमा गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजान लागिएको थियो तथा कारोबारमा अन्य व्यक्तिको संलग्नता छ/छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ठूलो परिमाणमा गाँजा बरामद भएपछि यस घटनालाई प्रहरीले लागूऔषध ओसारपसारसँग जोडेर अनुसन्धान अघि बढाएको छ ।

Related Articles

Back to top button