समाचार
थलापति विजयको शपथमा ढिलाइ भएको भन्दै एक कार्यकर्ताले आफैलाई लगाए आगो

भारतको तमिलनाडु राज्यमा सरकार गठन हुन सकेको छैन ।
हालैको चुनावमा सबैभन्दा धेरै सिट जितेर सरकार गठनका लागि दाबी पेश गरेका तमिलगा वेत्री कझगम (टीभीके)का प्रमुख चन्द्रशेखर जोसेफ विजय (थलापति विजय)को आज हुने भनिएको शपथ रोकिएको छ ।
यसैबीच, विजयको शपथ हुन ढिलाइ भएको भन्दै शनिबार उनका एक कार्यकर्ताले आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, तिरुनेलवेली जिल्लामा एक टिभीके कार्यकर्ताले विजयको शपथ ग्रहणमा ढिलाइ भएकोमा निराश भएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई गम्भीर अवस्थामा असारीपल्लमको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ, अहिले उनको उपचार भइरहेको छ ।
उनी तिरुनेलवेली जिल्लाको चेट्टीकुलम नजिकैको गाउँका हुन् ।



