पर्साको बहुदरमाईमा लागुऔषधविरुद्ध जनचेतनामूलक तालिम सम्पन्न

55

वीरगञ्ज,२५ जेठ ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा लागुऔषधविरुद्ध जनचेतनामूलक तालिम सम्पन्न भएको छ। तालिम बहुदरमाइ नगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको सहकार्यमा आयोजित नागरिक सुनुवाइ तथा तालिम कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नगरपालिकाका राजनीतिक सल्लाहकार बिपीन यादवले बहुदरमाइ क्षेत्रमा विशेषगरी किशोर–किशोरीहरू लागुऔषधको लतमा फसिरहेको गम्भीर अवस्था रहेको औंल्याए। “सानो उमेरका बालकसम्म यसमा फसिरहेका छन्, अब पनि हामी सचेत नभए भविष्य गम्भीर हुन सक्छ,” यादवले चेतावनी दिएका थिए। उनले प्रहरीसहित सबै पक्षलाई सचेत र सक्रिय बन्न आग्रह गरे। यादवले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुदर्शन अर्याललाई नागरिकता तथा राष्ट्रिय परिचयपत्र बनाउँदा सर्वसाधारणले भोगिरहेको समस्या समाधान गर्न पनि अनुरोध गरे।

उक्त गुनासोको जवाफ दिँदै सिडिओ अर्यालले प्रशासन नागरिक समस्याप्रति गम्भीर रहेको भन्दै तत्काल समाधानको प्रतिबद्धता जनाए। “जिल्ला प्रशासन कार्यालयमा काम गराउन गइ समस्या आएमा मलाई सिधै फोन गर्नुस्, म तुरुन्त समाधान गर्छु,” उनले स्पष्ट पारे।

कार्यक्रममा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्नहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। “तपाईंहरूसँग सूचना छ भने दिनुस्, सेवनकर्तालाई कारबाही गर्ने जिम्मा मेरो हो,” उनले भने।

तालिममा सहभागीहरूले लागुऔषधको दुरुपयोग नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच सशक्त समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा उपमेयर सुष्मा कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, विभिन्न वडाध्यक्षहरू लगायतको उपस्थिति थियो। कार्यक्रममा बहुदरमाइ नगरपालिकाका प्रमुख सिंगासन साह तेलीको अध्यक्षता रहेको थियो।

Leave a comment