समाचार

चिन्तन आचार्यको कार्यकालमा बारा यातायात कार्यालयमा अनियमितता बढेको आरोप

बारा जिल्लाको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। सेवाग्राहीहरूका अनुसार लिखित तथा ट्रायल परीक्षा फेल भएका उम्मेदवारलाई समेत आर्थिक लेनदेनको आधारमा लाइसेन्स वितरण भइरहेको छ, जसले समग्र प्रणालीमाथि प्रश्नचिह्न खडा गरेको छ।

स्थानीय स्रोतका अनुसार कार्यालय प्रमुख चिन्तन आचार्यको जिम्मेवारी सम्हालेपछि कार्यालयभित्रको अनियमित गतिविधि झनै बढेको गुनासो बढ्दै गएको छ। कर्मचारी र सक्रिय दलालहरूको मिलेमतोमा तोकिएकोभन्दा बढी शुल्क असुली गरी परीक्षा फेल भएका उम्मेदवारलाई पास गराइने गरिएको आरोप लगाइएको छ।

सेवाग्राहीहरूले आर्थिक पहुँच भएका उम्मेदवारहरूको ट्रायल तथा लिखित परीक्षाको नतिजा हेरफेर गरी पास गरिने, तर योग्य र नियमअनुसार परीक्षा दिएका उम्मेदवारहरूलाई अनावश्यक रूपमा फेल गराइने गरेको बताएका छन्। यसले इमानदार सेवाग्राहीहरू निराश बन्नुका साथै जनविश्वासमा गम्भीर असर परेको उनीहरूको गुनासो छ।

यसैबीच, वीरगञ्जस्थित सुर्या अस्पतालमा कार्यरत राज साह नामका ब्यक्ति प्रमुख आचार्यका विश्वासपात्र भनिएका रघुनन्दन साहको आफ्नो नातेदार रहेको बुझिएको छ।राज साह नामका ब्यक्ति घुस रकमको लेनदेनमा संलग्न रहेको आरोपसमेत सार्वजनिक भएको छ।
विशेष गरी लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दा पास भएका उम्मेदवारहरूको नाम मात्र प्रकाशन गरिने गरिएको छ, जसका कारण कुल सहभागी संख्या र फेल हुनेहरूको विवरण बाहिर नआउँदा पारदर्शितामाथि थप प्रश्न उठेको छ। यही प्रक्रियाभित्र हुने चलखेलले परीक्षाको निष्पक्षता र विश्वसनीयता कमजोर बनाएको आरोप छ।

सार्वजनिक यातायातजस्तो संवेदनशील क्षेत्रमा अयोग्य व्यक्तिलाई लाइसेन्स वितरण हुनु आम नागरिकको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको भन्दै सरोकारवालाहरूले तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्। विज्ञहरूले पनि यस विषयमा सम्बन्धित निकायले छिटो ध्यान नदिए ठूलो दुर्घटना र सामाजिक अविश्वासको जोखिम बढ्ने चेतावनी दिएका छन्।

सर्वसाधारणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यथाशीघ्र छानबिन गरी दोषीमाथि कारबाही गर्न अनुरोध गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button