काठमाडौँ । गत भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्चारमाध्यमबाट बुधबार सार्वजनिक प्रतिवेदनमा पत्रकारिताकाे विषय समेत समेटिएकाे थियाे ।
बिहीबार महासङ्घका महासचिव रामप्रसाद पाण्डेयले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार र सञ्चारमाध्यमका सम्बन्धमा प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्म विपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधान आपत्तिजनक रहेको बताए ।
‘पत्रकार हुन कम्तीमा स्नातक हुनुपर्ने, १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार, सहायक सम्पादक भई काम गरेको हुनुपर्ने जस्ता हास्यास्पद सुझाव दिने चेष्टा गर्नु लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्र पत्रकारिताको मूल्य, मान्यता र मर्म विपरीत हो,’विज्ञप्तिमा लेखिएको छ ।
आयोग संविधान र विद्यमान कानुनी प्रावधान विपरीत पत्रकार र सञ्चारमाध्यमलगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि महासङ्घ असहमति प्रकट गरेको हो ।
प्रतिशोधको भावनाबाट प्रेरित प्रतिवेदनले भोलिको राज्य संयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको महासङ्घको बुझाइ छ ।
नेपाली पत्रकारहरू लोकतन्त्रप्रतिको अविचलित आस्थामा निष्ठावान् छन् भन्ने विषयमा राज्यका सबै निकायलाई महासङ्घले सचेत समेत गराएको छ ।
महासङ्घ पत्रकार आचारसंहिता पालना गरी स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्नेमा सदा सचेत र दृढ रहेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमण गर्ने जुनसुकै प्रयासको कडा प्रतिवाद गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
