इरानी नौसेना प्रमुख ताङसिरी मारिएको इजरायलको दाबी

52

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका बीच इजरायलले इरानका नौसेना प्रमुख अलिरेजा ताङसिरी मारिएको दाबी गरेको छ । इजरायलका अनुसार इरानको बन्दर अब्बास क्षेत्रमा गरिएको सैन्य कारबाहीमा ताङसिरीको मृत्यु भएको हो ।

इजरायली अधिकारीहरूले ताङसिरी नै होर्मुज बन्द गराउने मुख्य योजनाकार रहेको दाबी गरेका छन् । तर, यसबारे इरानको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

अलिरेजा ताङसिरी अगस्ट २०१८ देखि इरानको रेभुलसनरी गार्डसको नौसेना विभागका कमान्डरका रूपमा कार्यरत थिए ।

उनको नेतृत्वमा इरानले विशेष गरी पर्सियन गल्फ र होर्मुज जलमार्ग क्षेत्रमा आक्रामक समुद्री रणनीति अपनाउँदै आएको थियो । हालका हप्ताहरूमा खाडी क्षेत्रमा देखिएको सैन्य गतिविधिमा उनको मुख्य भूमिका रहेको बताइन्छ ।

गत हप्ता मात्र ताङसिरीले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका थिए । उनले ती क्षेत्रमा रहेका नागरिक र कर्मचारीहरूलाई सम्भावित हमलाबाट बच्न टाढा रहन आग्रह गरेका थिए ।

टाइम्स अफ इजरायलसँग कुरा गर्दै एक अधिकारीले अलिरेजा ताङसिरी बन्दर अब्बासमा भएको आक्रमणमा मारिएको बताएका छन् ।

तर, यस विषयमा इरान वा इजरायल सरकारबाट औपचारिक पुष्टि हुन बाँकी छ । यदि, यो खबर पुष्टि भएमा, फेब्रुअरी २८ यता इजरायलले इरानी उच्च सैन्य नेतृत्वलाई लक्षित गर्दै गरेको आक्रमणहरूको श्रृंखलामा यो अर्को ठूलो घटना हुनेछ ।

२०२६ फेब्रुअरी २८ मा अमेरिका इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अलि खामेनिई मारिएको दाबीपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको छ । त्यसयता इजरायलले इरानका उच्च तहका सैन्य तथा रणनीतिक व्यक्तिहरूलाई लगातार निशाना बनाइरहेको बताइएको छ ।

जनवरी २०२६ मा पनि बन्दर अब्बास क्षेत्रमा भएको विस्फोटपछि अलिरेजा ताङसिरी मारिएको खबर सार्वजनिक भएको थियो । तर, पछि इरानी सञ्चारमाध्यम तस्निमले उक्त दाबीलाई असत्य भन्दै ताङसिरी सुरक्षित रहेको जनाएको थियो ।

यसपटकको घटनामा भने वास्तविकता के हो भन्ने औपचारिक पुष्टि हुन बाँकी छ ।

Leave a comment