काठमाडौ । भारतीय रेल मन्त्रालयले रक्सौल–काठमाडौं नयाँ रेलमार्ग परियोजनाको ‘फाइनल लोकेसन सर्भे’ सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको भारतको पत्रिका द इनिडयन एक्सप्रेस ले जनाएको छ ।
१३६ किलोमिटर लामो यो नयाँ रेलमार्गले दुई राष्ट्रबीचको सम्पर्कलाई अझ सुदृढ बनाउनुका साथै आर्थिक वृद्धि र विकासलाई बढावा दिने बताइएको छ । सन् २०२६ मार्च २० मा भारतको माथिल्लो सदन राज्यसभामा एक प्रश्नको लिखित जवाफ दिँदै भारतीय रेलमन्त्री अश्विनी वैष्णवले यो बताएका हुन् ।
सन् २०१८ अप्रिल ७ मा एउटा संयुक्त विज्ञप्ति जारी गर्दै भारत र नेपाल सरकारले रेल सम्पर्क विस्तार गर्ने बताएका थिए ।
यस अन्तर्गत भारतको सीमावर्ती सहर रक्सौललाई नेपालको राजधानी काठमाडौंसँग जोड्ने नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।
यो परियोजनाको खर्च भारत सरकारले व्यहोर्ने बताइएको छ । राज्यसभामा दिएको लिखित जवाफमा भारतीय रेलमन्त्री वैष्णवले भने, “पशुपतिनाथ धाम भारतबाहिर नेपालको काठमाडौंमा अवस्थित छ । यसको सबैभन्दा नजिकको रेलवे स्टेशन रक्सौल हो, जुन रेल सञ्जालसँग राम्रोसँग जोडिएको छ । रक्सौल (भारत)–काठमाडौं (पशुपतिनाथ) १३६ किलोमिटर लामो नयाँ रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भइसकेको छ र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिएको छ ।”
