पर्सागढी नगरपालिकामा दल परिवर्तन, विक्रम कार्कीको नेतृत्वमा सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

रामनिवास कुमार पटेल
पर्सा । पर्सागढी नगरपालिका वडा नं. ३ का विक्रम कार्कीको नेतृत्वमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
बुधबार राति बढ्नीहारस्थित सम्पर्क कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले नेता प्रदुमन यादव तथा पालिका अध्यक्ष दुर्गा लामिछानेले टीका–माला लगाई पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेहरूमा रामहरी खड्का, राम जनम चौधरी, प्रताप लामा, राम बहादुर खनाल, बिष्णु बुढाथोकी लगायत रहेका छन्।
कार्यक्रमका वक्ताहरूले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा यादवलाई विजयी गराउन सबै एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय स्तरमा पछिल्लो समय एमालेप्रति जनआकर्षण बढ्दै गएको र पर्सागढी क्षेत्रमा संगठन थप सुदृढ बन्दै गएको नेताहरूले दाबी गरेका छन्।




