
अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलदेव चौधरीले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विगतका वर्षहरूमा जनताले बारम्बार आश्वासन पाए पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले यसपटक ‘काम र परिणाममुखी नेतृत्व’ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चौधरीले ‘विकासको आधारः पूर्वाधार, कृषि र स्वरोजगार’ भन्ने मूल नारासहित क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेका छन् । सडक, पुल तथा यातायात सञ्जाल विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मदन भण्डारी राजमार्गको तीव्र निर्माण, अन्तरपालिका सडक स्तरोन्नति, तथा गाईघाट–फत्तेपुर सडक खण्डमा पुल निर्माण सम्पन्न गर्ने योजना उनले अघि सारेका छन् । साथै, रिङरोड निर्माण र सगरमाथा विमानस्थल (जोगीदह) सञ्चालनमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।
कृषि तथा सिँचाइ क्षेत्रलाई आर्थिक मेरुदण्डका रूपमा अघि बढाउँदै लिफ्ट सिँचाइ आयोजना सञ्चालन, कृषि तथा पशुपालन पकेट क्षेत्र विकास, र शीत भण्डार स्थापना गरी कृषकको उत्पादन सुरक्षित र बजारमुखी बनाउने योजना प्रस्तुत गरिएको छ ।
यसैगरी, ऊर्जा, कृषि, पर्यटनअभियानमार्फत हजारौं युवालाई स्वरोजगार बनाउने लक्ष्य उनले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
पर्यटन प्रवद्र्धनतर्फ ऐतिहासिक चौदण्डीगढी दरबारको संरक्षण, स्थानीय धार्मिक तथा प्राकृतिक स्थलहरूको विकास र होमस्टे कार्यक्रममार्फत ग्रामीण पर्यटन विस्तार गर्ने योजना उनको रहेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार, प्राविधिक शिक्षामा जोड, नगर अस्पतालहरूको स्तरोन्नति, एम्बुलेन्स सेवा सुदृढीकरण तथा त्रियुगा क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता गरिएको छ । साथै, प्रत्येक वडालाई पुस्तकालयमैत्री बनाउने योजना समेत अघि सारिएको छ ।
सुशासन, युवा स्वरोजगार र उद्यमशीलतालाई प्राथमिकता दिँदै भ्रष्टाचार नियन्त्रण, प्रविधिमैत्री सेवा प्रवाह तथा युवालाई सहुलियतपूर्ण ऋणमार्फत व्यवसायमा आकर्षित गर्ने नीति लिइने चौधरीले बताएका छन् ।
विपद् व्यवस्थापनअन्तर्गत नदी नियन्त्रण, तटबन्धन र वातावरण संरक्षणका कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी, भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान, लालपुर्जा वितरण, सहकारी तथा घरेलु उद्योग प्रवद्र्धन, र खेलकुद पूर्वाधार विकास गर्ने योजना समेत प्रतिबद्धतामा समेटिएको छ ।
चौधरीले बेलका नगरपालिकालाई कृषि, चौदण्डीगढीलाई औद्योगिक र त्रियुगालाई शैक्षिक हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरेका छन् ।



