
वीरगन्ज ,२५ माघ । पर्सा क्षेत्र नं.२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली निवासी रामजी प्रसाद कुर्मी नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमाले वीरगंज महानगर कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा कुर्मीलाई एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी र मधेश प्रदेश कमिटीका उपाध्यक्ष एवं वीरगंज महानगर इन्चार्ज विचारी यादवले पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुर्मीले परिवर्तनको चाहनाका कारण आफू एमालेमा प्रवेश गरेको बताए । उनले कांग्रेसले एउटै नेतालाई पटक–पटक टिकट दिने तर ती नेता सांसद र मन्त्री बनेपछि पनि जिल्ला तथा क्षेत्रको विकासमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए । यही कारणले कांग्रेस परित्याग गरी परिवर्तनको विकल्पका रूपमा एमाले रोजेको उनको भनाइ थियो ।
कुर्मीले आगामी निर्वाचनमा एमाले पर्सा क्षेत्र नं. २ की युवा तथा महिला उम्मेदवार रिमा कुमार यादवलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा एमाले वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी लगायतको पनि उपस्थिति रहेको थियो।



